राजधानीको भृकुटीमण्डपमा माघ तेस्रो साता सूचा प्रविधि मेला आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गर्ने उक्त मेला माघ १४ गतेदेखि १९ गतेसम्म पाँच दिन चल्नेछ ।विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यसहित क्यानले विगत २१ वर्षदेखि यस्तो मेला आयोजना गर्दै आएको छ ।
‘सुविसु क्यान इन्फोटेक २०१५ ईन एशोसियसन विथ डेल इन्टेल बाई नियोटेरीक नेपाल’ नामक यस मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहने बताइएको छ । त्यस्तै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहनेछन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य स्टलहरु रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
आयोजकका अनुसार हालसम्म मुख्य प्रदर्शनी हलभित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।
यस पटकको मेलामा साढे ४ लाख अवलोकनकर्ता भित्राउने लक्ष्य राखिएको छ । अिघल्लो मेलामा ४ लाख ३१ हजार ३५० अवलोकनकर्ता मेलामा आएका थिए ।
मेलामा साधारणहरुलाई प्रवेश शुल्क १५० रुपैयाँ र विद्यार्थीहरुलाई ७५ रुपैयाँ तोकिएको छ । माघ १८ गते आइतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि १५० रुपैयाँ तोकेको आयोजकले जनाएको छ ।
सरकारी विद्यालयहरुबाट अगि्रम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलामा अनलाइन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाएको बताउँदै आयोजकले अनलाइन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गर्ने जनाएको छ ।

0 Reviews:
Post Your Review